२०औं शताब्दीको अन्त्यतिर र २१औं शताब्दीको प्रारम्भसँगै, नेपाल लगायत विश्वभरि महिला नेतृत्वको स्वरूप तीब्र गतिमा परिवर्तन भएको छ । परम्परागत समाजमा महिलालाई घरेलु सीमाभित्र मात्र सिमित राखिने चलन आज विगतको कुरा बन्दै गएको छ । अब महिला नेतृत्व केवल उपस्थितिको विषय होइन, प्रभाव र परिवर्तनको स्रोत बन्न थालेको छ ।
हिजो सिउँदोको सिन्दूर थियो महिलाहरुको परिचय, आज रणनीतिक निर्णयको मूल सूत्र हुन् महिलाहरु ।
महिलाहरू राजनीतिमा, शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि र सामाजिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा उभिन थालेका छन् । नेपालमा राष्ट्रपति, सभामुख, प्रमुख राजनीतिक दलहरूमा महिला नेतृहरूको सक्रियता र क्षमता सामाजिक धारणा बदल्ने प्रमुख आधार बनेका छन् । यो परिवर्तन केवल आकस्मिक होइन — यो संघर्ष, निरन्तर प्रयास र शिक्षाको फल हो । विद्यालयदेखि विश्वविद्यालयसम्मको नेतृत्व, स्थानीय तहदेखि संघीय सरकारसम्मको पहुँच, सामाजिक अभियन्ताबाट नीति निर्मातासम्मको यात्रा महिलाहरूले साहस र आत्मविश्वासले पार गरिरहेका छन् । महिला नेतृत्वले ल्याउने दृष्टिकोण फरक हुन्छ । जहाँ संवेदनशीलता, समावेशिता र शान्तिपूर्ण समाधानको प्राथमिकता रहन्छ । उनीहरू केवल अधिकारका लागि बोल्दैनन्, समानताको अभ्यासमा अगुवा भूमिका खेल्छन् ।
संघर्ष र सम्भावनाको विस्तारित यात्रा
नेपाली समाजमा महिलाको भूमिका परम्परागत रूपमा गृहिणी, सन्तानको रेखदेख गर्ने र परिवारको पालनपोषण गर्ने जिम्मेवारीमा सीमित थियो । शिक्षा, जागिर, राजनीतिको सवालमा महिलालाई दोस्रो दर्जाको व्यवहार गरिन्थ्यो । तर समय बदलियो, सोच बदलियो र महिलाहरूले आफ्ना अधिकारको आवाज उठाउन थाले । उनीहरू अब केवल परिवर्तनको साक्षी होइनन्, परिवर्तनका नेतृत्वकर्ता बनेका छन् ।
इतिहासमा महिला नेतृत्व
नेपालको महिला आन्दोलनको इतिहास लामो छ । राणाकाल जस्तो कठिन र निरंकुश कालमा राणा प्रधानमन्त्रीलाई चुनौति दिन सक्ने सशक्त योद्धा थिइन्, योगमाया । २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा पनि महिलाहरूको उपस्थिति बाक्लै देखिएको थियो, यद्दपि त्यो सशक्त आवाज सहितको बन्न सकेन । राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा शैलेजा आचार्य तीन वर्ष जेल बस्नुपरेको घटनाले महिलाको साहस र क्रान्तिकारीताको उदाहरण मिल्छ ।

२०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चाको नेतृत्व सहाना प्रधानले गरेकी थिइन् । २०५२ देखी १० वर्षसम्म चलेको शसस्त्र युद्धमा समेत महिलाको उल्लेख्य एवं सक्रिय सहभागिता रहेको थियो । २०६२/६३ को जनआन्दोलनमा महिलाहरूको सहभागिता निर्णायक रह्यो । यिनै परिवर्तनकामी आन्दोलनमा महिलाले देखाएको वीरता, त्याग र बलिदानीको कारण राज्यले अहिले वडा तहदेखि केन्द्रसम्म विभिन्न तहमा महिलाको प्रतिनिधित्व सम्बन्धि प्रावधानहरु जबरदस्त राख्नुपरेको छ । जस्तो कि अहिले संविधानले पनि महिलाको ३३% प्रतिनिधित्व सुनिश्चित गरेको छ, जुन ऐतिहासिक कदम हो । किनभने नेपाली महिलाले इतिहासका कालखण्डमा शोषण, अन्याय र अत्याचारका दर्दनाक पीडा र वेदनाहरु भोग्दै र पित्तृसत्तालाई बेदखल जोगाइदिनुपरेको छ । यो यसकारणले ऐतिहासिक छ कि हिजोको तुलनामा नेपाली महिलाहरुले धेरै कुरा पाएका छन् । यद्दपि हामीले यो कुरा पनि भुल्नु हुदैन कि ग्रामिण नेपाली महिलाहरुको स्थितिमा अहिलेपनि उल्लेख्य सुधार हुन सकेको छैन । नेपालका धेरै घरहरुमा, खासगरी ग्रामिण र कम शिक्षित घरहरुमा महिलाहरु अहिलेपनि दासको स्थितिमा बाँच्न विवस छन् ।
शिक्षा र सचेतनाको प्रभाव
महिला नेतृत्वको मुख्य आधार शिक्षा हो । शिक्षित महिला मात्रै जागरूक नागरिक बत्र सक्छिन्, र नेतृत्वमा आफ्नो अधिकार सुनिश्चित गर्न सक्ने क्षमता विकास गर्छिन् । तर लामो समयसम्म महिलालई पढ्नबाट वञ्चित गरियो । अर्काको घर जाने जात भनेर हेँला होचोमा पारियो तर महिलाहरुले हार मानेन् । उनीहरुले विभिन्न जटिलताका बाबजुत निरन्तर संघर्ष गरिरहे । परिणामस्वरुप आज विद्यालयदेखि विश्वविद्यालय, टेक्निकल क्षेत्रदेखि अनुसन्धानसम्म महिलाहरूको उल्लेखनीय उपस्थिति भएको छ । महिलाहरूकाे आवाज अब सडकका गल्लीदेखि नीति निर्माण तहसम्म पुग्न थालेको छ । शिक्षा र सचेतनाले महिलालाई पुरुष बराबरको मानव भएर बाँच्न र आफ्नो अधिकारको लागि लड्न सिकाएको छ ।
राजनीतिक नेतृत्वमा महिलाको उपस्थिति
नेपालको इतिहासमै पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालले महिला नेतृत्वको एक प्रतिकात्मक मात्र होइन, व्यावहारिक पक्ष पनि उजागर गर्यो । त्यस्तै सर्वाेच्च अदालतको प्रधान न्यायाधीश बन्नुभएकी सुशिला कार्कीको सफल एवं उदाहरणीय कार्यकालले महिलाको नेतृत्वलाई आम स्वीकार्य बनायो । त्यस्तै सभामुख ओनसरी घर्ति मगरको कुशल नेतृत्व अर्को उदाहरण हो । हाल स्थानीय तहमा महिला मेयर, उपमेयर, वडा अध्यक्ष, जनप्रतिनिधिको संख्या उत्साहजनक छ । यसरी महिलाको उपस्थिति वर्तमान लोकतन्त्रकोे मजबुत आधार बन्न पुगेको छ । राजनीतिक वृतमा महिला उपस्थितिले अन्य गृहिणी, किसान र मजदुर महिलालाई पनि प्रोत्साहन गरेको छ । आजकाल आमाहरु आफ्ना छोरीलाई चुलो चौकोमा मात्रै सीमित देख्न चाहदैनन् । उनीहरुले आफ्ना छोरीहरुलाई अर्ति दिने गर्छन् हामीले अवसर पाएनौं, अब तिमी फलानो महिलाजस्तै बन्नुपर्छ ।

सामाजिक परिवर्तनमा महिलाको प्रभाव
राजनीतिक नेतृत्व बाहेक सामाजिक आन्दोलनहरूमा महिलाहरू अग्रमोर्चामा छन् । लैङ्गिक हिंसाविरुद्घको आवाज, बालविवाहको अन्त्य, शिक्षामा पहुँच, श्रमको सम्मान र न्याय प्राप्तिका लागि महिला नेतृहरू निरन्तर क्रियाशील छन् । उनीहरूको नेतृत्वले सामाजिक मुद्दाहरूलाई गहिरो रूपमा उठान गरेको छ । सामाजिक अभियन्ताको रुपमा महिलाले गरेको योगदान पछिल्लो समय उच्चकोटीको देखिएको छ । साहित्य लेखनको क्षेत्रमा पारिजात परिचित नाम हो । जसले महिलाप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिइन् । अनुराधा कोइरालाले सामाजिक कार्यमा निर्वाह गरेको भुमिकाप्रति सायदै कोही अपरिचित होला । विद्या चापागाई जसले पत्रकारिता मार्फत सामाजिक क्षेत्रका थुप्रै मुद्धाहरुलाई उठाउने र सरोकारवालालाई घचघच्याउने गर्छिन् । यसबाट महिला कोहीभन्दा कम छैनन् भन्ने कुरा साबित भएको छ र त्यसले पछिल्लो पुस्तालाई प्रेरणा थपेको छ ।
प्रविधि, विज्ञान र व्यवसायमा महिला
आजको युगमा महिला वैज्ञानिक, प्रविधिक, इञ्जिनीयर, उद्यमी र निर्देशकको रूपमा उदाएका छन् । उनीहरूले नयाँ प्रविधिको प्रयोगबाट सामाजिक विकासमा महत्वपूर्ण योगदान दिएका छन् । महिला नेतृत्व अब सीमित क्षेत्रको कुरा छैन, हरेक क्षेत्रमा उनीहरूको प्रभाव फैलिएको छ । साम्बा भनेर चिनिने साबित्रा भण्डारीले फुटबल क्षेत्रमा गरेको चमत्कार एउटा उदाहरण बन्न सक्छ । त्यस्तै महिलाहरु राष्ट्रकैंकको कामु गभर्नर देखि बैंकको CEO सम्म बनिसकेका छन् ।
नेतृत्वको स्वरूप संवेदना, सहिष्णुता र समावेशिता
महिला नेतृत्वको विशेषता संवेदनशीलता, सहिष्णुता र सहकार्यमा आधारित निर्णय प्रक्रियामा निहित हुन्छ । उनीहरू केवल ‘शक्ति’ प्रदर्शन गर्दैनन्, ‘सहानुभूति’ मार्फत परिवर्तन ल्याउँछन् । सशक्त निर्णय लिने क्षमता, भावनात्मक बुद्धिमत्ता र दीर्घकालीन सोच महिला नेतृत्वको मूल सार हो ।
अवरोधहरू र चुनौतीहरू
यद्यपि नेतृत्वमा महिलाको उपस्थिति बढ्दो छ, अझैं पनि सामाजिक, सांस्कृतिक र राजनीतिक संरचनामा जरा गाडेका पूर्वाग्रहहरू उनीहरूको बाटोमा अवरोध बनेका छन् । परिवार र समाजबाट सहयोगको कमी, असमान अवसर, हिंसा, पूर्वाग्रह लैङ्गिक भेदभाव, असमान वेतनजस्ता समस्याहरू अझैं समाधान हुन बाँकी छन् । महिला नेतृहरूले दोहोरो संघर्ष गर्नुपर्छ – आफ्नो पहिचानका लागि र समाजको स्वीकारोक्तिका लागि । महिला नेतृत्व केवल शहरी शिक्षित महिलासम्म मात्र सीमित हुनु हुँदैन । यो त हिमाल ,पहाड, तराई र पूर्व मेची देखि पश्चिम महाकाली सम्मका ग्रामीण महिलाहरू, दलित र जनजाति महिलाहरू, अपाङ्गता भएका महिलाहरूको आवाज पनि नेतृत्वमा समावेश हुन जरुरी छ । यस्तो समावेशी नेतृत्वले मात्र न्यायपूर्ण र समान समाज निर्माण गर्न सक्छ । शिक्षा, कानूनी सुरक्षा, नीतिगत समानता, महिला नेतृत्व प्रशिक्षण दिनानु दिन बढाउँदै लैजानु पर्छ ।
निर्माणको सशक्त आधार उपसंहारः भविष्य
जब महिला अघि बढ्छिन्, समाज अघि बढ्छ । उनीहरू निर्णयकर्ता बनेपछि समाज न्यायसंगत र दिगो शान्तिको मार्गमा अगाडि बढ्छ ।
नेतृत्वमा महिलाको उदय केवल राजनीतिक उपस्थिति होइन, सामाजिक चेतनाको उच्चतम प्रकट हो । यो सशक्त, समान र समावेशी समाजको निर्माणका लागि अपरिहार्य छ । जब महिला अघि बढ्छिन्, समाज अघि बढ्छ । उनीहरू निर्णयकर्ता बनेपछि समाज न्यायसंगत र दिगो शान्तिको मार्गमा अगाडि बढ्छ ।
महिला नेतृत्वका विशेष खुबीहरूः
१. संवेदनशीलता र मानवीय दृष्टिकोण
महिला नेतृहरू समस्याको केवल नीतिगत हैन, मानवीय पक्ष पनि हेर्छन् । उनीहरू निर्णय गर्दा भावनात्मक बुद्धिमत्ता प्रयोग गर्छन् जसले गर्दा निर्णय अधिक समावेशी र स्थायी हुन्छ ।
२. संवाद दक्षता
महिला नेतृहरू प्रायः सुन्ने र बुझ्ने क्षमतामा उत्कृष्ट हुन्छन् । उनीहरू सहकार्य र समझदारीमा विश्वास राख्छन्, जसले टोलीमा विश्वास र ऊर्जा सिर्जना गर्छ ।
३. बहुपक्षीय जिम्मेवारी सम्हाल्ने क्षमता
उनीहरू एकैसाथ घर, समाज, कार्यालय र नेतृत्वका भूमिकाहरू सन्तुलनमा राख्न सक्षम हुन्छन् । नेतृत्वमा पनि यही खुबी काम लाग्छ — नीति बनाउने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने, सबै पक्षमा उनीहरू सजग हुन्छन् ।
४. सहिष्णुता र धैर्य
नेतृत्वको बाटो सधैँ सहज हुँदैन । महिला नेतृहरूमा कठिन परिस्थितिमा संयम राख्ने, आलोचना स्वीकार गर्ने र त्यसबाट सिक्ने क्षमता अत्यन्त बलियो देखिन्छ ।
५. दीर्घकालीन सोच
महिला नेतृहरूले भविष्यको पुस्तालाई ध्यानमा राखी रणनीति बनाउँछन् । उनीहरू केवल तात्कालिक लाभ होइन, दीर्घकालीन सामाजिक लाभका लागि सोच्दछन् ।
६. समावेशी निर्णय प्रक्रिया
उनीहरू निर्णयमा सबै वर्ग, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्न चाहन्छन् । नेतृत्वमा हुँदा, महिलाहरू अल्पसंख्यक, विपत्र वा दलित समुदायका मुद्दाहरूलाई नजरअन्दाज गर्दैनन् ।
७. इमानदारी र पारदर्शिता
धेरै अध्ययनहरूले देखाएका छन् — महिला नेतृहरूमा भ्रष्टाचारप्रति सहनशीलता कम हुन्छ । उनीहरू पारदर्शिता, जवाफदेहिता र सत्यको पक्षमा अडिग रहने देखिन्छ ।
८. सांस्कृतिक सहिष्णुता र मुल्यहरूको सम्मान
महिला नेतृहरूले नेतृत्वलाई केवल अधिकारको रूपमा होइन, सेवा र उत्तरदायित्वको रूपमा लिन्छन् । त्यसैले उनीहरू समाजमा मूल्य र नैतिकताको संरक्षण गर्ने कर्तव्यबोध राख्छन् ।
९. शिक्षा र सतर्कता
अधिकांश महिलाहरू नेतृत्वमा पुग्नु अगाडि शिक्षाको कदर गर्छन् । उनीहरू आफू पनि सिक्न चाहन्छन् र अरूलाई पनि शिक्षामा प्रोत्साहन गर्छन् ।
महिला नेतृत्जवका उदाहरणहरूः
१. योगमाया न्यौपाने
योगमाया न्यौपानेको जन्म वि.सं. १९२४ असारमा भोजपुरको सिम्ले, नेपालेडाँडामा श्रीलाल र चन्द्रकला न्यौपानेकी सुपुत्रीका रूपमा भयो । बाल्यकालदेखि नै सामाजिक अन्याय, छुवाछुत, अन्धविश्वास, शोषणविरुद्ध आवाज उठाउँदै आएकी उनी नेपालकै प्रथम विद्रोही समाजसुधारिका, सन्त कवयित्री र आध्यात्मिक महिला नेतृ हुन् ।

उनले राणाशासनको विरुद्ध २६८ बुँदे ‘सत्य धर्म भिक्षा’ नामक सुधारप्रस्ताव प्रधानमन्त्री श्री ३ जुद्ध समशेर जबरासम्म पुर्याइन् । तर वचन दिइए पनि कार्यान्वयन नभएपछि वि.सं. १९९५ मा उनले २४० अनुयायीसहित सामूहिक अग्निदाहको प्रयास गरिन्, जुन असफल भयो । अन्ततः वि.सं. १९९८ असार २२ मा हरिशयनी एकादशीका दिन ५९ (कतै ६८ समेत उल्लेख छ) अनुयायीसहित अरुण नदीमा जलसमाधि लिइन् । उनका विचार आज पनि सामाजिक न्याय र समानताको प्रेरणास्रोत छन् ।
योगमाया नेपाली इतिहासको अनमोल सम्पदा हुन्, जसले आत्मबलिदानद्वारा समाज परिवर्तनको मार्ग देखाइन् । र महिलाको आत्मबल निकै बढेको छ र हाल नेपालको राष्ट्रपति नै महिला नेतृ बन्न पुगेकी छन् ।
२. विद्यादेवी भण्डारी
नेपालको पहिलो महिला राष्ट्रपति एक माहिला नेतृ जसले समग्र जनताको सिंगो राज्यको समानताको आवाज उठाउने ठाउँमा पुगिन् । २०८० सालको तथ्यांक हेर्दा स्थानीय निर्वाचनमा महिलाको सहभागिता ४१% पुगेको थियो ।” “UNDP को एक अध्ययन अनुसार, महिला नेतृत्व भएका संस्थाहरूमा निर्णयको गुणस्तर र कार्यक्षमता २५% बढी देखिन्छ ।” “हिजो सिउँदोको सिन्दूर थियो महिलाहरुको परिचय, आज रणनीतिक निर्णयको मूल सूत्र हुन् महिलाहरु ।”
अन्तर्राष्ट्रिय रूपमा हेर्दा पनि महिला नेतृत्वले उत्कृष्ट उदाहरण राखेका छन् ।
१. चीनकी लिन लानयिंग (Lin Lanying_
जसले “मदर अफ चाइनिज सेमिकण्डक्टर” उपाधी पाएकी छन् ।
लिनले चीनको पहिलो मोनोक्रिस्टलाइन सिलिकन उत्पादन गरिन्, जसले चीनलाई अमेरिका र रसियापछि यस्तो प्रविधिमा तेस्रो देश बनायो । उनी विज्ञान र प्रविधिमा महिला नेतृको रोल मोडेल बनिन् ।
२. भारतकी किरण बेदी
भारतकी पहिलो महिला भारतीय पुलिस सेवा (आईपीएस) अधिकारी किरण बेदी हुन् । उनले सन् १९७२ मा आईपीएसमा प्रवेश गरी इतिहास रचिन् । त्यो समयमा उनी ८० जना पुरुष प्रशिक्षार्थीहरूको ब्याचमा एकमात्र महिला थिइन्, जसले उनीप्रति साहस, प्रतिबद्धता र नेतृत्वको प्रतीक बनायो ।
३. न्यूजिल्याण्डकी प्रधानमन्त्री Jacinda Ardern को संवेदनशील नेतृत्व
४. जर्मनीकी Angela Merkel को दीर्घकालीन र सन्तुलित नेतृत्व आदि ।
यी सबै उदाहरणहरूले देखाउँछन् । जब महिलाहरू अवसर पाउँछन्, उनीहरू केवल नेतृत्व गर्दैनन् — समाजलाई पुनः परिभाषित गर्छन् ।
तर अझैं पनि यात्रा सकिएको छैन। अवसर, पहुँच र प्रतिनिधित्वमा समता ल्याउन निरन्तर प्रयास आवश्यक छ । “नेतृत्वको सिंहासन अब शक्ति मात्र होइन, संवेदनाको सिंहासन पनि बनेको छ ।” थुप्रै सुधार भए अझ धेरै सुधार गर्न बाँकी नै छ । महिलाको नेतृत्व सामाजिक जागरणको प्रतिबिम्ब मात्र होइन, भविष्य निर्माणको आधारशिला हो त्यसैले हाम्रो यात्रा निरन्तर जारी नै छ । “महिला नेतृत्व केवल पदको कुरा होइन, चेतनाको क्रान्ति हो । जब एक महिला अघि बढ्छिन्, उनीसँग हजारौँ सपनाहरु संगै अगाडी बढ्छन् ।” त्यसैले वर्तमान असमानताकाे जग भत्काउन सबै महिला एकजुट भएर लागाैं ।
शाह नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय विशेष प्रदेश संयोजक हुन् ।
नोटः अखिल (क्रान्तिकारी) को त्रैमासिक प्रकाशन विद्यार्थी जागरणका लागि तयार पारिएको यो लेख विद्यार्थी जागरणको असार अंकबाट लिइएको हो ।