मार्क्सवाद विज्ञानको पनि विज्ञान हाे । अतः विज्ञान हुनुको कारण मार्क्सवादलाई बुढो र युवा अथवा नयाँ र पुरानोमा विभाजन गर्नु औचित्यहिन गनगन बाहेक अरु केहि पनि हुन सक्दैन । बरु, विज्ञानको निरन्तर विकासक्रममा कैयौं पुराना मान्यताहरु खण्डित हुनु विज्ञानको मृत्यु या बुढ्यौली नभएर बरु मानव ज्ञानको सीमा प्रकट हुनु हो ।
‘उत्पादक शक्तिहरुको विकासको फलस्वरुप सामाजिक जीवनको एउटा व्यवस्थाबाट अर्को उच्चतर व्यवस्थामा विकास भईरहन्छ ।’ ‘सामाजिक विकासको आधार र त्यसको प्रेरक शक्ति वर्गहरुको संघर्ष हो ।’ ‘पूराना वर्गहरुको स्थानमा नयाँ वर्गहरु, उत्पीडनका पूराना अवस्थाहरुको स्थानमा नयाँ अवस्थाहरु र संघर्षका पुराना रुपहरुको स्थानमा नयाँ रुपहरुलाई स्थापित गरिरहन्छ ।’, ‘कुनै पनि वस्तु अन्तिम, निरपेक्ष र पुण्य छैन ।’ यी आधारभूत मान्यताहरु मार्क्सवादका त्यस्ता निर्देशक तत्वहरु हुन् जसले मार्क्सवादलाई विज्ञानको रुपमा संगठित गर्नुका साथै विज्ञानको त्यस्तो मस्तिष्कमा स्थापित गरिदिएको छ जहाँ मार्क्सवाद विज्ञानको पनि विज्ञान बनेको छ । अतः विज्ञान हुनुको कारण मार्क्सवादलाई बुढो र युवा अथवा नयाँ र पुरानोमा विभाजनको औचित्यहिन गनगन केवल कुतर्क बाहेक अरु केहि पनि हुन सक्दैन । बरु, विज्ञानको निरन्तर विकासक्रममा कैयौं पुराना मान्यताहरु खण्डित हुनु विज्ञानको मृत्यु या बुढ्यौली नभएर बरु मानव ज्ञानको सिमा प्रकट हुनु हो । यसका बाबजुद पनि स्थापनाकाल देखि नै मार्क्सवादलाई बुढो र युवा तथा पुरानो र नयाँमा विभाजन गरेर यसका आधारभूत मान्यताहरुमाथि छुरा रेट्ने एवम् पूँजीवादको चम्चागिरी गर्ने संशोधनवादी प्रपञ्च भने निरन्तर कायम रहदै आएको कटु यथार्थबाट कम्युनिष्ट आन्दोलन प्रशस्त भुग्तभोगी छ ।
कुनै पनि वस्तुको उपस्थिति आफैमा नकार र सकारको त्यस्तो अन्योन्याश्रित सम्बन्ध हो जहाँ वस्तुको अघिल्लो स्वरुप पछिल्लोको लागि नकार हुन जान्छ भने पछिल्लो स्वरुप अघिल्लोको लागि सकार हुन्छ ।
मार्क्सवाद नकारको सकारमा (पहिले पहिले निषेधको निषेध भन्ने गरिन्थ्यो) रुपान्तरणको अविच्छिन्न श्रृंखला हो । कुनै पनि वस्तुको उपस्थिति आफैमा नकार र सकारको त्यस्तो अन्योन्याश्रित सम्बन्ध हो जहाँ वस्तुको अघिल्लो स्वरुप पछिल्लोको लागि नकार हुन जान्छ भने पछिल्लो स्वरुप अघिल्लोको लागि सकार हुन्छ । उदाहरणको लागि पृथ्वी आज जुन रुपमा डल्लो आकारको पिण्डको रुपमा अवस्थित छ विगत समयमा त्यो धुलो र धुवाँको कणका रुपमा थियो । आज जसरी यसको बाहिरी भाग चिसो र जीवनाकूल छ विगतमा त्यो थिएन । कालान्तरमा पृथ्वी आज जुन अवस्थामा छ त्यो नहुने सुनिश्चित छ । यहाँ धुलाम्य कणहरुको पर्दाको रुपमा रहेको अघिल्लो पृथ्वी पिण्डरुपी पछिल्लो पृथ्वीको सकार हो । जीवनहीन तातो अघिल्लो पृथ्वी जीवनाकूल पछिल्लो पृथ्वीको नकार हो । अतः वस्तुको कुनै पनि अवस्थिति त्यस पूर्वको स्वरुपकालागि सकार हो भने प्रत्येक पछिल्लोका लागि नकार हो । यो अविच्छिन्नता त्यस्तो प्रक्रिया हो जो कारण र परिणामको रुपमा रहन्छ । एउटा अवस्थाको परिणाम अर्को अवस्थाको कारणमा बदलिन्छ भने एउटा अवस्थाको कारण अर्को अवस्थाको परिणाम हुन जान्छ । यो नै भौतिक जगत र समाज विज्ञानको अनुलङ्घनिय प्रक्रिया हो । मार्क्सवाद त्यसको गम्भिर आत्मसातिकरण हो ।
अब हामी मार्क्सवाद बुढो भयो, पुरानो भयो भन्ने केहि तर्कहरुबारे चर्चा गरौं –
१) उत्पादक शक्तिहरुको निरन्तर विकास अझ त प्राविधिक शक्ति नै उत्पादक शक्तिको महत्वपूर्ण हिस्सा बनिरहेको आजको भूमण्डलिकृत दुनियाँमा ‘सामाजिक जीवनको एउटा व्यवस्थाबाट अर्को उच्चतर व्यवस्थाको विकासको परिणाम ‘पूराना वर्गहरुको स्थानमा नयाँ वर्गहरु, उत्पीडनका पूराना अवस्थाहरुको स्थानमा नयाँ अवस्थाहरु र संघर्षका पुराना रुपहरुको स्थानमा नयाँ रुपहरु स्थापित’ हुनु अनिवार्य छ र भएको पनि छ । श्रम र पूँजीको तीब्र विश्वव्यापीकरण, भौतिक श्रमको स्थानमा बौद्धिक श्रमको स्थानान्तरण, वित्तीय पूँजीको चरम एकाधिकार, उत्पादनको व्यापक विकेन्द्रीकरण (बहुराष्ट्रिय कम्पनीहरुको विस्तार) एवम् लगानीको आँधिमय विस्तारले ‘पुरानो स्थानीय तथा राष्ट्रिय पृथकता र आत्म निर्भरताको ठाउँ चारै दिशामा सम्बन्ध, राष्ट्रहरुको सर्वव्यापी अन्तरनिर्भरताले लिएको छ’ र कुनैपनि देश अब पूँजीवादी संक्रमणबाट मुक्त छैन । जब पूँजी र श्रमको स्वरुप बदलिएको छ भन्ने निष्कर्षमा हामी पुग्दछौं भने पूँजीपति र श्रमिकको स्वरुप पनि बदलिएको एवम् संघर्षका रुपहरु फेरिएको वास्तविकतालाई विश्व समाजवादी आन्दोलनले आत्मबाेध गर्नै पर्दछ । सो अनुरुपको कार्यदिशा, कार्ययोजना र कार्यशैली तयार पार्नै पर्दछ । यसका बाबजुद पनि भन्ने पर्ने कुरा के हो भने यो सम्पूर्ण परिणाम मार्क्सवाद पुरानो भएको कारण पैदा भएको नभएर वस्तुको (सामाजिक जिवनमा उत्पादन सम्बन्ध) स्वरुपमा परिवर्तनको परिणाम मात्रै हो ।
बरु, मार्क्सवादले प्रक्षेपण गरेको विशिष्ट कुरा – समाजवादको विकास जब साम्यवादमा पुग्दछ त्यो बेला वर्ग, निजी सम्पत्ति र राज्यसत्ताको समेत अन्त्य हुन्छ । वास्तविक स्थायी शान्तिको युग शुरुआत हुन्छ, जहाँ शोषण र विभेदका सम्पूर्ण स्वरुपहरु नष्ट हुनेछन् र युद्धको समेत सदाको लागि अन्त्य हुनेछ । के यो तर्क खण्डित भएको हो ? आउनुस् थप चर्चा गरौं –
मार्क्सवादको सार्भभौमिकता केवल तीन तत्वमा अन्तरनिहित छ – वर्ग संघर्ष, सशस्त्र संघर्ष र राज्यसत्तामा सर्वहारा नायकत्व । के यि तत्वहरुको औचित्य अब समाप्त भयो ? तथ्यहरुले यसो भन्छन्– भूमण्डलिकृत एवम् अति एकाधिकारी आजको विश्वमा एक प्रतिशत धनिहरुको हातमा बाँकि ९९ प्रतिशत मानिसहरुको बराबरी सम्पत्ति रहेको छ भने तल्लो ५० प्रतिशत जनतासँग १ देखि २ प्रतिशत मात्र सम्पत्ति रहेको छ । त्यसैगरी नेपालका १० प्रतिशत धनीहरुको हातमा ५० प्रतिशत सम्पत्तिको स्वामित्व कायम छ भने तल्लो ५० प्रतिशतको हातमा १० प्रतिशत सम्पत्ति मात्र रहेको छ । यो वास्तविकताले के वर्ग संघर्षको समाप्तितिर संकेत गर्दछ र ? होईन, विल्कुल होईन । बरु, यसले अबको दुनियाँमा वर्ग संघर्ष झन् धेरै तिखारिएर आएको पो संकेत गरेको छ त !
पूँजीपति र श्रमिकको स्वरुप पनि बदलिएको एवम् संघर्षका रुपहरु फेरिएको वास्तविकतालाई विश्व समाजवादी आन्दोलनले आत्मबाेध गर्नै पर्दछ । सो अनुरुपको कार्यदिशा, कार्ययोजना र कार्यशैली तयार पार्नै पर्दछ ।
२०२३–०२४ मा विश्वको कूल रक्षा वजेट २.४४ ट्रिलियन डलर पुगेको छ । २०२२ को तुलनामा यो ६.८ प्रतिशतले बृद्धि हो । अमेरीका एक्लैको बजेट विश्वको कूल रक्षा बजेटको एक तिहाई रहेको छ भने चीन, रुस, भारत, बेलायत युक्रेन, इजरायल लगायतका देशहरु रक्षा क्षेत्रमा उच्च लगानीकर्ता मुलुकहरु हुन् । के यो सम्पूर्ण लगानी एक देशले अर्को देशलाई लुट्न या आफ्नै देशका उत्पिडित वर्ग र तब्काको आन्दोलन तबाह गर्न प्रयोग भईरहेको छैन ? रुस, युक्रेन, ईजरायल, प्यालेष्टाईन, इरान, अर्मेनिया, अजरवैजानको प्रत्यक्ष युद्ध, र थुप्रै शक्ति राष्ट्रहरुको व्यापार युद्ध विश्व बजार कब्जाकै होडबाजीले पैदा गरेको परिणाम हो । भर्खरै मत्थर भएको भारत–पाकिस्तान युद्ध, चीन र अमेरीकाको वाक तथा व्यापार युद्ध, उत्तर कोरीया र अमेरीकाबीचको दोहोरी तथा कैयौं देशहरुमा त्यहाँका उत्पीडित तब्का र सर्वहारा–श्रमजिवि वर्गले चलाईरहेका आन्दोलनहरुमा सम्बन्धित देशका सत्ताधारीहरुबाट हुने गरेका नृशंस दमन र सञ्चालित हत्याअभियानहरुले के सशस्त्र संघर्षको औचित्य समाप्त भएको प्रमाणित गर्दछ ? अनि यस्तो अवस्थामा पनि शान्तिपूर्ण प्रतिस्पर्धाको अपार सम्भावनाबारे सुझाव गर्ने संशोधनवादी कुतर्कलाई के भन्ने ?
२) सर्वहारा वर्गिय नायकत्व (सामान्यतः अधिनायकत्व) को विरोध संशोधनवादको अर्को निकै गजबको विशेषता हो । पूँजीपतिहरुकै बोलिमा लोलि मिलाएर संशोधनवादका ‘प्रखर बौद्धिक’हरुले सर्वहारा नायकत्वलाई श्रमिक वर्गले पुँजिपति वर्गको अमानविय नाफाखोर प्रवृत्तिमाथि लगाउने बन्देजको रुपमा नभएर सम्पूर्ण जनताको सम्पत्ति लुट्ने र उनिहरुमाथि थोपरिने हैकमको रुपमा परिभाषित गर्दछन् र आम-जनतालाई समाजवादबाट तर्साएर पूँजीपतिहरुका ‘इलेक्ट्रिक ओभन’हरुमा जबर्जस्त धकेलेर हाडछाला बनाउछन् । पूँजीवादका बिरुद्धको संघर्षलाई कमजोर बनाउँछन् ।
मार्क्सवादले घोषणा गरेको कुरा यो हो कि सर्वहारा सत्ता अर्थात् समाजवाद भनेको ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम’को व्यवस्थाबाट ‘योग्यता अनुसारको काम र आवश्यकता अनुसारको माम’को व्यवस्थामा कायम गर्नु हो ।
वास्तविक सर्वहारा वर्गीय सत्तामा आम-जनताको सम्पत्ति कब्जा हुने नभएर त्यसको ठिक उल्टो उनिहरुलाई पर्याप्त मात्रामा उत्पादनका साधनहरु उपलब्ध गराईन्छ भन्ने सत्य बोल्न उनिहरु डराउँछन् । मार्क्सवादले घोषणा गरेको कुरा यो हो कि सर्वहारा सत्ता अर्थात् समाजवाद भनेको ‘योग्यता अनुसारको काम र काम अनुसारको दाम’को व्यवस्थाबाट ‘योग्यता अनुसारको काम र आवश्यकता अनुसारको माम’को व्यवस्थामा रुपान्तरण हो । के आजका पूँजीपतिहरुले श्रमिकहरुले पाउनुपर्ने ज्यालाको २० प्रतिशत मात्र पनि उनीहरुलाई दिएका छन् ? प्रविधिको उपयोग गरेर श्रमिकले पाउनु पर्ने ज्यालाको हजार गुणा सम्पत्ति हडपेर अकूत नाफा (अतिरिक्त मुल्य) आर्जन गरेका खर्बपतिहरुको सम्पत्ति राज्यले कब्जा गरेर तिनै श्रमिक जनता र असहाय तब्काको जीवन सहज बनाउन प्रयोग गर्नुपर्छ भन्ने कुराको संशोधनवादी दिग्गजहरु नाभिदेखिको ताकत लगाएर बिरोध गर्छन् ।
हो, विगत मजदुर वर्गीय सत्ता स्थापित भएका देशहरुमा समाजवादको प्रयोग सम्बन्धि केहि गम्भिर त्रुटीहरु अवश्य भएका छन् । तर, त्यो नै माक्र्सवादको असफलता भने कदाचित् होईन । त्यो केहि हदसम्म अनुभवको सिमा हो र केहि हदसम्म पूँजीवादको ठुटोमा पलाएको ऐजेरु मार्क्सवादको सीमा हो । हाम्रो देशका कतिपय मार्क्सवादी पण्डाहरुले भने झैं ‘अब राजनीतिक क्रान्तिको युग समाप्त भयो, आर्थिक क्रान्तिको युग शुरु भयो’ भन्नु, ‘हिजो पो राजा थियो, सामन्तवाद थियो उसका बिरुद्ध लडियो, अब कसका बिरुद्ध लड्ने’ भन्नु र ‘जनयुद्ध पुरानो भयो है’ भन्नु पूँजीवाद सामु लज्जास्पद आत्मसमर्पण हो । सर्वहारा नायकत्वको बिरोध हो ।
३) भौतिक जगतको अस्तित्व सम्बन्धि मार्क्सवादको आधारभूत मान्यता हो – पदार्थको द्वन्दात्मकता र अविनाशकता । मार्क्सवादका अनुसार पदार्थको न जन्म हुन्छ न त मृत्यु नै ! बरु, पदार्थ निरन्तर रुपान्तरणको यस्तो अविछिन्न प्रक्रियामा रहेको हुन्छ जसको परिणाम विभिन्न वस्तुहरुको जन्म र मृत्यु हुन्छ भने त्यसो हुनुको मुख्य कारक पदार्थ स्वयत्र अन्तर्निहित द्वन्दात्मकता अर्थात् विपरित्वबीचको संघर्ष(अन्तरभेदन) र त्यसबाट पैदा हुने गति (रुपान्तरण) हो । अतः सम्पूर्ण भौतिक जगतको अस्तित्व विपरित्वको एकत्वमा आधारीत छ ।
तर, संशोधनवादले वस्तुमा अन्तरनिहित विपरित्वको एकत्वलाई अस्विकार गर्दछ । पदार्थ र गति एवम् वस्तु र चेतनालाई एक अर्कोबाट स्वतन्त्र ठान्दछ । संशोधनवादका अनुसार पदार्थको अस्तित्व मृत, जडवत् या बुद्ध शान्तिको अवस्थामा हुन्छ । उसले पदार्थ भित्रको संघर्षपूर्ण र उथलपुथलकारी स्वत्वलाई अस्विकार गर्दछ, जो गति र रुपान्तरणको आधारभूत कारक हो । फलस्वरुप सामाजिक क्रान्तिलाई संशोधनवादले आम जनताको सहभागिताबाट अलग गर्दछ र कुनै अलौकिक व्यक्तिको तिलस्मितामाथि भर पर्दछ । उसका लागि जबसम्म त्यो तिलस्मी व्यक्तिको जन्म हुदैन तबसम्म क्रान्ति हुदैन । अझ त ति व्यक्तिहरु एक जुगमा एक पटक एक जनाको दरले मात्र जन्मने युगवादी सिद्धान्तको समेत प्रतिपादन गर्दछ र क्रान्तिका लागि त्यो युगबाहक महापुरुषको आलस्यपूर्ण जन्मप्रतिक्षामा कुरिरहन्छ ।
संशोधनवादले वस्तुमा अन्तरनिहित विपरित्वको एकत्वलाई अस्विकार गर्दछ । पदार्थ र गति एवम् वस्तु र चेतनालाई एक अर्कोबाट स्वतन्त्र ठान्दछ ।.......नेतृत्वले आन्दोलन पैदा गर्ने र आन्दोलनबाट नेतृत्वको जन्म हुने, क्रान्तिले प्रतिक्रान्ति पैदा गर्ने र प्रतिक्रान्तिबाटै फेरि क्रान्तिको जन्म हुने, आधारले उपरीसंरचनालाई बदल्ने र उपरीसंरचनाले आधारलाई बदल्ने द्वन्दात्मक अन्तरसम्बन्ध र ऐतिहासिक श्रृंखलालाई अस्विकार गर्दछ ।
पदार्थको रुपान्तरणकारी अवस्थालाई घटना श्रृंखलाको रुपमा अस्विकार गर्नु संशोधनवादको अर्को विशेषता हो । जस्तो कि नेतृत्व र आन्दोलन, क्रान्ति र प्रतिक्रान्ति, आधार र उपरीसंरचना इत्यादि अन्तरसम्बन्धहरु नियमित आकस्मिकताको रुपमा रहिरहेका हुन्छन् । जबकि, संशोधनवादका लागि त्यो केवल आकस्मिकता र अनिश्चय मात्र हो । नेतृत्वले आन्दोलन पैदा गर्ने र आन्दोलनबाट नेतृत्वको जन्म हुने, क्रान्तिले प्रतिक्रान्ति पैदा गर्ने र प्रतिक्रान्तिबाटै फेरि क्रान्तिको जन्म हुने, आधारले उपरीसंरचनालाई बदल्ने र उपरीसंरचनाले आधारलाई बदल्ने द्वन्दात्मक अन्तरसम्बन्ध र ऐतिहासिक श्रृंखलालाई संशोधनवादले अस्विकार गर्दछ । परिणामस्वरुप सचेतन पहलकदमीको मार्क्सवादी भूमिकालाई संशोधनवादले स्वतस्फुर्ततामा सिमित गरेर क्रान्तिलाई एक सुदूर भविश्यको विषय बनाईरहन्छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा देखा परेको संशोधनवादको पछिल्लो भद्दा अभिव्यक्तिस्वरुप पार्टी भनेको मन मिल्नेहरुको जमघट मात्र हो । उसका अनुसार समाजमा, पार्टीमा विपरीत्व भन्ने हुदैन । विपरीत्वबीच एकत्वको नियम भौतिक पदार्थमा मात्र लागू हुन्छ, समाज र पार्टीमा लागू हुदैन । उसले निकै चिन्ताभावका साथ तर्क गर्दछ – हामिले यो विपरित्वको एकत्व सिद्धान्त अनुशरण गर्दा कम्युनिष्ट पार्टीमा जहिल्यै झगडा हुन थाल्यो, फुट हुन थाल्यो ! अब यो सिद्धान्त छोडियो भने पार्टीमा झगडा भन्ने कहिल्यै हुने छैन ! कति गजवको कुरा छ भने मानौं हामीले यो सिद्धान्त परित्याग गरिदिएपछि मानव समाज झगडा बिनाको दुनियाँ बन्नेछ । पुँजीपतिहरुले मजदुरहरुलाई शोषण गर्न छोड्नेछन्, साम्राज्यवादी देशहरुले साना र कमजोर देशहरुलाई लुट्न छोड्नेछन् । यो सारा बिग्रिएको यहि सिद्धान्तको अनुशरणले हो ! महाशयहरु, यति त बुझ्नुस कि हामी कम्युनिष्टहरु ल यो विपरीत्व सिद्धान्तको कारण झगडा गर्न पुग्यौं, अनि ति पुँजीपतिहरु चाहिँ किन विश्वयुद्धहरु लड्छन् ? सामन्तहरु आफ्नै काका–बाबा या दाुजु–भाइ मारेर किन राजा हुन्छन् ?
४) सर्वहारा सत्ता सम्बन्धी माक्र्सवादका दुई आधारभूत प्रस्तावनाहरु रहेका छन् – ‘वर्गहरुको उन्मूलनतिर अग्रसर गराएर राज्यको उन्मूलनतिर अग्रसर । पहिलो कार्य, जसद्वारा राज्यले आफूलाई वस्तुतः पूरै समाजको प्रतिनिधि बनाउछ– अर्थात् समाजको नाममा उत्पादनका साधनहरुलाई आफ्नो अधिकारमा लिन्छ । साथै राज्यको रुपमा यसको अन्तिम स्वतन्त्र कार्य पनि हुन्छ । एक पछि अर्को क्षेत्रमा सामाजिक सम्बन्धहरुमा राज्यशक्तिको हस्तक्षेप अनावश्यक बन्दै जान्छ । व्यक्तिहरुमाथि शासनको स्थान वस्तुहरुको प्रवन्ध तथा उत्पादनका कार्यहरुको सञ्चालनले गर्दछ । राज्यलाई ‘नष्ट’ गरिदैन, यो आफै ओईलाएर जान्छ ।’
सर्वहारा अधिनायकत्वलाई सुदृढ गर्नुको प्रथम कार्यभार हुनजान्छ– उत्पादनका प्रमुख साधनहरुमाथि राज्यको स्वामित्व कायम गर्नु ।
उत्पादनका साधनहरुलाई आफ्नो अधिनमा लिएर सर्वहारा अधिनायकत्वलाई सुदृढ गर्ने राज्यसत्ताको पहिलो कार्य निकै कठिन र संवेदनशिल छ । यो अवधि त्यो बेलासम्म रहिरहन्छ जतिबेलासम्म विश्वका अधिकांश देशहरुमा समाजवादी सत्ता स्थापित हुदैन । समाजवादी शिविर आज विश्वव्यापी प्रतिक्रान्तिको सामना गरिरहेको अवस्थामा छ । पूँजीवाद आज प्रत्येक व्यक्तिको रगतका कण कणमा भरिएको छ । यो अवस्थामा सर्वहारा अधिनायकत्वलाई सुदृढ गर्नुको प्रथम कार्यभार हुनजान्छ– उत्पादनका प्रमुख साधनहरुमाथि राज्यको स्वामित्व कायम गर्नु । यो समाजका उत्पीडित तब्कालाई राज्यको मूल प्रवाहमा सहभागि गराउने र पूँजीवादी निजी सम्पत्ति विलोपीकरणको त्यस्तो ऐतिहासिक आधारशिला हो जुन प्रक्रिया पार नगरी पूँजीवादको किल्ला भत्किनेवाल छैन । अझ भन्ने हो भने यो पहिलो प्रक्रिया पार नगरी सर्वहारा सत्ताको दोस्रो कार्यभार– ‘राज्यसत्ताको विलोपीकरणतिर अग्रसरता’ अपुरो हुन्छ । वर्गको उन्मूलनका लागि निजी सम्पत्ति उन्मूलनको ‘ऐतिहासिक कार्यभार’ स्वरुप गरिने ‘राजकिय स्वामित्व’को बिरोध संशोधनवादी तर्क हो र त्यसले सत्ता विलोपीकणको ऐतिहासिक मार्गलाई अवरोध गर्दछ ।
५) क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त चाहिन्छ र त्यो सिद्धान्तलाई ब्यवहारसिद्ध गर्ने क्रान्तिकारी पार्टी चाहिन्छ । तर, समस्याको गाँठो के छ भने एउटा कुनै पार्टी एउटा समयमा क्रान्तिकारी हुँदैमा सधै क्रान्तिकारी भईरहन्छ भन्ने पनि त रहेन ? रुसमा लेनिन–स्टालिन पछि वोल्सेभिक पार्टी रहेन, चीनमा माओको निधन पश्चात् त्यहाँको पार्टी पनि संशोधनवादमा पतन भयो ! कैयौं देशका पार्टीहरु प्रमुख नेतृत्व जिवित हुँदाकै अवस्थामा संशोधनवादमा पतन भए ! हाम्रै देशको कुरा गर्ने हो भने पनि क्रान्ति नायक प्रचण्ड लोकतान्त्रिक गणतन्त्रको पुँजीवादी आहालमा नराम्ररी डुब्न पुगे, अर्का धुरन्धर नेता बाबुरामले त मार्क्सवादबाटै सन्यासको घोषणा गर्न पुगे ! हुँदा हुँदा क्रान्तिको जिलो भनिएका विप्लव पनि संशोधनवादी ‘महापतन’कै हिस्सा माग्न कुदारेकुद भएपछि निरन्तर क्रान्तिकारीकरणको संगठनात्मक विधि सम्बन्धि बहस अनिवार्य बनेको छ ।
हामी जब योजनाको निर्माण गर्दछौं त्यो बेला जनवाद प्रधान हुन्छ तर, जब कार्यान्वयनको समय शुरु हुन्छ त्यो बेला केन्द्रीयता प्रधान हुन्छ । तर, योजना निर्माणमा केन्द्रीयता लाद्नु र कार्यान्वयनका बेला जनवाद खोज्नु त्यो गैह्र मार्क्सवाद हो, भडुँवा संशोधनवादी तरीका हो ।
पार्टीको निरन्तर क्रान्तिकारीकरण सम्बन्धि आधारभूत प्रश्न व्यक्तिको निरन्तर क्रान्तिकारीकरण पनि हो । त्यो व्यक्ति सबैभन्दा धेरै पार्टीको उच्च तहमा सक्रिय व्यक्ति हो । पार्टीको केन्द्रीय समिति, पोलिटव्युरो या स्थायि समिति, सैन्य क्षेत्रमा क्रियाशिल जनरल स्टाफ र अन्ततः पार्टीको प्रमुख जिम्मेवारीमा रहेको अध्यक्ष/महासचिव हो । कम्युनिष्ट आन्दोलनमा संगठनको निरन्तर क्रान्तिकारीकरणका लागि जनवादी केन्द्रीयता र लाल–निपूर्णताको लेनिनवादी–माओवादी सिद्धान्त हालसम्मकै उत्कृष्ट संश्लेषण हो । तर, यसलाई प्रयोग गर्ने सवालमा जनवाद र केन्द्रीयता अनि लाल र निपूर्णतालाई एक अर्कोबाट अलग गर्ने एवम् प्रधान र गौणको स्थानलाई बेवास्ता गर्ने कमजोरीहरु प्रशस्त रहदै आएका छन् । हामी जब योजनाको निर्माण गर्दछौं त्यो बेला जनवाद प्रधान हुन्छ तर, जब कार्यान्वयनको समय शुरु हुन्छ त्यो बेला केन्द्रीयता प्रधान हुन्छ । तर, योजना निर्माणमा केन्द्रीयता लाद्नु र कार्यान्वयनका बेला जनवाद खोज्नु त्यो गैह्र मार्क्सवाद हो, भडुँवा संशोधनवादी तरीका हो ।
संगठनमा कार्यकर्ताको मुल्यांकन विधि क्रान्तिकारीकरणको अर्को महत्वपूर्ण पक्ष हो । यो विषयको सम्बाेधनका लागि चीनको साँस्कृतिक क्रान्ति र त्यहाँको संश्लेषण निकै दूरगामी महत्वको रहेको छ । लाल र निपूर्णको उचित संयोजन अन्तर्गत कुनै पनि कार्यकर्ता आफु स्वयम् पहिला लाल बन्नु र त्यसपछि निपूर्णता हासिल गर्नु अनिवार्य हुन्छ भन्ने साँस्कृतिक क्रान्तिको केन्द्र बिन्दु हो । आफ्ना प्रत्येक काममा हरेक कार्यकर्ता आधारभूतरुपले निपूर्ण अर्थात विज्ञ बन्नु आवश्यक छ । तर, त्यो विज्ञता सिद्धान्तहिन, खोक्रो र आडम्बरी भएमा त्यो लाल बिनाको विज्ञता हो र त्यसले क्रान्तिमा मद्दत गर्दैन । यसलाई तीन गर र नीन नगरको सिद्धान्त अन्तर्गत पनि विश्लेषण गर्ने गरीन्छ– माक्र्सवाद लागू गर, संशोधनवाद होईन, एक जुट होऊ नफुट, खुला र स्पष्ट होऊ छलछाम र षडयन्त्र नगर ! यसर्थ, विचारमा मार्क्सवाद लागू गर्नु, संगठनमा एकतालाई पहिलो प्राथमिकतामा राख्नु तथा खुला र स्पष्टताको कार्यशैली अपनाउनु नै लाल र निपूर्णताको वैज्ञानिक संयोजन हो । यदि कुनै पनि नेता तथा कार्यकर्ताले मार्क्सवादको ठाऊँमा संशोधनवाद लागू गर्दछ, एकताको स्थानमा फुटलाई प्रश्रेय गर्दछ तथा खुल्ला र स्पष्ट व्यवहार गर्नुको साटो छलछाम र षडयन्त्र गर्दछ भने त्यो न लाल हो न त्यसले गर्ने विज्ञताको कुनै औचित्य नै रहन्छ ।
अन्त्यमा, मार्क्सवाद सिंगो प्रकृति जगत र विशेषतः समाज विज्ञान सम्बन्धि विश्लेषण र संश्लेषणको त्यस्तो व्यवस्थित विचारधारा हो, जो हालसम्म विकसित सम्पूर्ण क्रान्तिकारी एवम् वैज्ञानिक मान्यताहरुको समुच्चय हो । यो एक त्यस्तो समुन्नत विचार विज्ञान हो जसले हरेक वस्तु र आफु स्वयंलाई आलोचनाबाट मुक्त राखेको छैन र निरन्तरको क्रान्तिकारीकरणलाई अस्तित्वको आधार ठान्दछ । यो नै मार्क्सवादको त्यस्तो ‘अजेयता’ हो जसको परिणाम यो एक विज्ञान हो र विज्ञानको रुपमा यो निरन्तर अस्तित्ववान छ । प्रकृति विज्ञानमा उद्घाटित पछिल्ला नयाँ नयाँ खोज र अनुसन्धानहरुले मार्क्सवादका मान्यताहरुलाई नै नयाँ नयाँ रुपमा वस्तुनिष्ठ सावित गरिरहेका छन् र मार्क्सवादको श्रेष्ठता झन् उचाईमा पुगेको छ ।
कम्युनिष्ट घोषणपत्रमा – ‘उत्पादन, विनिमय र सम्पत्ति–सम्बन्धहरु सहितको आधुनिक पूँजीवादी समाजले उत्पादन र विनिमयको विशाल साधनलाई पैदा गरेको छ, तर त्यसलाई सम्हाल्न यो असमर्थ छ । यस मानेमा यो समाज त्यस्तो जादुगर झैं छ, जो आफ्नो जादुको बलले आफूले बोलाएका भुतप्रेतहरुलाई बशमा राख्न सक्दैन । वितेका धेरै देशको उद्योग र व्यापारको इतिहास वर्तमान उत्पादन–सम्बन्धहरुको बिरुद्ध पूँजीपति वर्ग र त्यसको शासनको आधार बनेका सम्पत्ति–सम्बन्धहरुको विरुद्ध आधुनिक उत्पादक शक्तिहरुको बिद्रोह इतिहास मात्र हो ।’ घोषणपत्रमा अझैं अगाडि भनिएको छ– ‘पहिलेका सबै ऐतिहासिक आन्दोलनहहरु अल्पसंख्यक मानिसहरुका आन्दोलन, अल्पसंख्यकको स्वार्थमा भएका आन्दोलन थिए । सर्वहारा आन्दोलन विशाल बहुसंख्याको स्वार्थमा विशाल बहुसंख्याको आत्मसचेत, स्वतन्त्र आन्दोलन हो । अधिकृत समाजको तमाम माथिल्लो ढाँचालाई ध्वस्त नपारिकन, हाम्रो वर्तमान समाजको सबभन्दा तल्लो स्तरमा रहेको सर्वहरावर्गले उन्नति गर्न सक्दैन, यसले आफूलाई माथि उठाउन सक्दैन ।’ अतः सर्वहारा आन्दोलनका प्रत्येक संवेदनशील घडिहरुमा मार्क्सवाद बुढो भएको भन्ने कुप्रचार सिर्जनशिलताको नाममा पूँजीवाद लागू गर्ने संशोधनवादी षड्यन्त्र बाहेक अरु केहि पनि होईन भन्ने यथार्थप्रति सजग बनौं । माक्र्सवाद लागू गरौं, एकतालाई अग्रस्थानमा राखौं, खुला र स्पष्ट बनौं । सर्वहारा आन्दोलन केवल सर्वहारा वर्गको आन्दोलन मात्र नभएर अन्तिम अर्थमा सिंगो मानव जातिकै अन्तिम र अनिवार्य आन्दोलन हो । यसको अवश्यम्भावि विजयप्रति विश्वस्त बनौं, आफ्ना काम कार्बाहीहरुमा इमान्दारीताका समर्पित होऔं !
(२०८२ जेठ २८ ।)
चलाउने नेकपा (बहुमत) का स्थायी किमिटी सदस्य तथा प्रभावशाली नेता हुनुहुन्छ ।
याे लेख बहुमत निकटकाे अखिल (क्रान्तिकारी) द्वारा प्रकाशित विद्यार्थी जागरणकाे असार अंकमा 'बुढाे मार्क्सवादकाे पहेली' शिर्षकमा प्रकाशित भएकाे थियाे ।